काठमाडौं– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा बागी उम्मेदवारी दिएका माओवादी नेता अमानसिंह तामाङ मनोनयन फिर्ता लिन तयार भएका छन्।
शुक्रबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फोन गरेपछि तामाङ उम्मेदवारी फिर्ता लिन तयार भएका हुन्। चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रले कृष्णप्रसाद सापकोटा 'देशबन्धु'लाई आधिकारिक उम्मेदवार बनाएको थियो।
यसअघि माओवादीबाटै चौतारा साँगाचोकगढीको मेयर निर्वाचित भएका उनले मेयर उठ्न भन्दै पदबाट राजीनामा दिएका थिए। पार्टीले टिकट नदिएपछि मनोनयन दर्ताको दिन (वैशाख १२ गते) उनका समर्थकहरुले निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड समेत गरेका थिए।
आफ्ना समर्थकसहित तामाङ उम्मेदवारी दर्ता गराउन गएपछि माओवादीका कार्यकर्ता बीचमै झडप भएको थियो।
पार्टी अध्यक्षले नै उम्मेदवारी फिर्ता गर्न भनेपछि आफू पछि हट्न राजी भएको तामाङको भनाइ छ।
शुक्रबार भएको छलफलपछि प्रमुखमा बागी उम्मेदवार दिएका तामाङसहित अन्य वडामा बागी उम्मेदवारी दिएका सबैले उम्मेदावरी फिर्ता लिन सहमति गरेको माओवादी केन्द्रका नेता एवम् प्रदेश सभा सदस्य युवराज दुलालले जानकारी दिएका छन्।
चौतारा साँगाचोकगढीमा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन्। मेयरमा माओवादीबाट सापकोटा उम्मेदबार रहेका छन् भने उपमेयरमा समाजवादीबाट सीता थापा उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।