काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा लोसपाले प्रमुख पार्टीहरुको चरित्र चित्रण गरेको छ। उसले कांग्रेस, कम्युनिस्ट पार्टीहरु र आफू विभाजित भएर आएको जनता समाजवादी पार्टीको आलोचना गरेको छ।
'नेपाली कांग्रेसः नाम ठुलो, काम सानो' शीर्षकमा लोसपाले कांग्रेसको आलोचना गरेको छ। 'जबजब मधेसी, शिल्पी/दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सँदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छ', लोसपाको घोषणापत्रमा भनिएको छ।
अनेकौं पटक जनताले बहुमत दिए पनि राष्ट्रिय र दूरगामी सोचमा कमी, असक्षम र अदुरदर्शी नेतृत्व र दलभित्र रहेका अनेकौं विवाद एवम् अन्य आन्तरिक द्वन्द्वका कारणले जनताले आफूलाई दिएको भूमिका र अवसरलाई नेपाली कांग्रेसले सदुपयोग गर्न नसकेको लोसपाको भनाइ छ। नेपाली कांग्रेस सजग, सचेत र समझदार भइदिएको भए अनेकौं पटकको मधेस/थरुहट आन्दोलन र ती आन्दोलनहरुमा दर्जनौं निर्दोष नेपालीहरुले ज्यान गुमाउनु नपर्ने उसको ठहर छ।
'नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद–बिक्री, चुनावमा पैसा र बलको अत्यधिक पय्रोग, जनप्रतिनिधिहरुको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारीवृत्तमा देखिएको व्यापक भ्रष्टाचार जस्ता विसंगतिहरुको पहिलो अभ्यासकर्ता पनि नेपाली कांग्रेस नै हो', लोसपाले भनेको छ।
कम्युनिस्ट पार्टीहरुको आलोचना गर्न लोसपाले 'नेपालका कम्युनिस्ट पार्टीहरुः विचार शून्य सत्तालोलुप राजनीतिक उद्यमी' शीर्षक दिएको छ।
'नेपालका कम्युनिस्ट पार्टीहरु स्वरुपमा राजनीतिक दल देखिए तापनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरुको राजनीतिक उद्यम गर्ने संगठनहरु हुन्', घोषणापत्रमा भनिएको छ, 'लगभग सबै कम्युनिस्ट पार्टीहरुको माथिल्लो नेतृत्व तहमा रहेका २० जना नेताहरुको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि ती केही जाति विशेषका पुरुषहरुको बाहुल्यता र वर्चस्व भएको पार्टीहरू हुन्। त्यहाँ मधेसी, दलित, मुस्लिम, महिला आदिको शून्यप्रायः उपस्थितिले यी संगठनहरुका जातीय र नश्लीय सोंच आफैँमा पुष्टि हुन्छ।'
लोसपाले कम्युनिस्ट पार्टीहरु राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरु भएको आरोप लगाएको छ। 'अरुण–तेस्रो जलविद्युत आयोजना बन्ने क्रममा विश्व बैंकलाई पत्र नै लेखेर रोकेको वास्तविकता होस्, काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको सबै तयारी पूर्ण हुन लागेको अवस्थामा विभिन्न बखेडा झिकेर अवरुद्ध गरेको अवस्था होस् अथवा पछिल्लो कालखण्डमा नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदानअन्तर्गत विद्युत प्रशारणको दृष्टिले नेपालको मेरुदण्ड मानिएको आयोजना निर्माण गर्न नेपाल आएको एमसीसीलाई बिथोल्न गरेको अचम्मको प्रयास होस्, नेपालका कम्युनिस्ट पार्टीहरु मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पर्दै आएका दुई–जिब्रे संगठनहरु हुन्', घोषणापत्रमा भनिएको छ।
जसपाप्रति पनि लोसपा आक्रामक छ। 'जनता समाजवादी पार्टी, नेपालः मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टी' शीर्षक दिएर उसले सो पार्टीको आलोचना गरेको छ। तर, मुख्य रुपमा अध्यक्ष उपेन्द्र यादवको आलोचना गरिएको छ।
'समय सँगसँगै जनता समाजवादी पार्टी, नेपाल आफ्नो सोच, व्यवहार र प्रस्तुतिको कारणले वैचारिक रुपमा असान्दर्भिक हुँदै गएको आभास हुन्छ। संविधान सभालाई निर्णायक मोडमा पुर्याउन भूमिका खेलेको र मधेस आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेसी जनाधिकार फोरम, नेपालको साखलाई धुलिसात गर्दै अहिले मधेसको मुद्दालाई नै बिर्सिएर जसपा, नेकपा (माओवादी केन्द्र) को भाइ पार्टीको रुपमा देखिएको छ', घोषणापत्रमा भनिएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै समयमा समग्र मधेस र सबै मधेसीको प्रतिनिधित्व गर्ने गरेको भएपनि, अहिले उनको राजनीति केही सीमित जातीय समुहको तुष्टिकरणमा खुम्चिएको लोसपाको आरोप छ। 'मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको यो पार्टीले मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको मात्र नभएर समग्रमा मधेस–थरुहट आन्दोलनलाई अवमूल्यन गरेको छ । यसको एक मात्र उद्देश्य जसरी पनि, जुनसुकै शर्तमा र जोसँग भए पनि सरकारमा प्रवेश गर्ने बाहेक अरु केही देखिँदैन', घोषणापत्रमा भनिएको छ।
कुनै एक कालखण्डमा परिवर्तनको संवाहक भएको यो पार्टी अहिले जातीय मतको जोड–घटाउ, संसदको अंकगणित र अन्य कम्युनिस्ट पार्टीहरु जस्तै निम्नस्तरीय राजनीतिक उद्यमशीलतामा लिप्त भएर आफूलाई औचित्यहीन, उद्देश्यहीन र सन्दर्भहीन बनाउनमा व्यस्त रहेको लोसपाको आरोप छ। 'जसपा, नेपाल अहिले कुनै विचार, कुनै वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व गर्दैन', घोषणापत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।