काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा लोसपाले 'केही गरियो, अझै गर्न सकिन्थ्यो तर धेरै गर्न बाँकी छ' भन्ने स्वीकारोक्ति व्यक्त गरेको छ। उसले आगामी निर्वाचन लक्षित २० वटा प्रतिबद्धता व्यक्त गरेको छ।
२० प्रतिबद्धतामा सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार; सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा; निशुल्क र व्यावहारिक सबै तहको शिक्षा; महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था; कृषि सेवा विस्तार, सिंचाई एवम् प्रभावकारी वजार व्यवस्थापन; चुरे जोगाऔं, मधेश बचाऔं; ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा; रोजगारमूलक, सीप विकास र उद्यमशीलता प्रवर्धन; युवाहरुको सन्तुलित विकास र खेलकुद पूर्वाधार निर्माण रहेका छन्।
त्यस्तै, कमजोर, असहाय र अशक्तहरुप्रति विशेष जिम्मेवारी; तत्काल एवं गुणस्तरीय विपद् व्यवस्थापन; ग्रामीण सडक र अन्य सामाजिक पूर्वाधार निर्माण; स्मार्ट सिटीको अवधारणा अनुरुप नगर विकास; थप पर्यटकीय स्थलको पहिचान,पूर्वाधार निर्माण एवम् प्रचार प्रसार; शहरी हरितक्रान्ति; व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी; अनुशासित, सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार; सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति; विशेष नगर, विशेष अवसर, विशेष व्यवस्था रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।