नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ३ जनाको उम्मेदवारी खारेज भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको निर्वाचन कार्यालयले विभिन्न कारणले ३ जनाको उम्मेदवारी खारेज भएको जनाएको छ।
नेपालगञ्ज उपमहानगरको वडा नम्बर १७ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका अजय कुमार पाठक, उपमहानगरपालिका वडा नम्बर ३ मा दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नम्बर ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले बताए।
पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका थिए। मनोनयन हुने केही समय अघि मात्रै माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका थिए।
एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै, उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ को दलित सदस्य पदमा उम्मेदवारी दिएकी निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।