काठमाडौं- नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेमाथि कारबाही गर्ने भएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन्।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए आज साँझ पाँच बजेसम्म फिर्ता लिइ पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ। यदी उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरिने चेतावनी कांग्रेसले दिएको छ।
'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ' पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।