काठमाडौं- वैशाख ३० को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रको गाउँपालिका इन्चार्ज समेत रहेका उम्मेदवार तामाङले एक विज्ञप्ति जारी गर्दै माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिँदै पार्टी परित्याग गरेको जनाएका हुन्।
२०५२ साल देखि नेमाओवादीमा आवद्ध तामाङले एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपा अन्तरिक समस्य, गुटबन्दी र फुट परास्त चिन्तन र व्यवहारले विभाजित भएको भन्दै आफू मूल प्रवाह एमालेमा प्रवेश गरेको जनाएका छन्।
'२०७५ जेष्ठ ३ मते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकिकारण गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का रुपमा पार्टीलाई रुपान्तरण गरेर एकताको नयाँ उचाई प्राप्त गरी पार्टी अगाडी बढी रहेको अवस्थामा पार्टी भित्र उत्पान्न अन्तरिक समस्य, गुटबन्दी र फुट परास्त चिन्तन र व्यवहारले एकताको त्यस अभियानमा केही ठेस लागेता पनि कमरेड पुष्पलाल, क. मदन भण्डारी र मनमोहन अधिकारीको नेतृत्वमा स्थापित विरासत र सच्चा उत्तराधिकारी अहिलेको समय र परिस्थितीमा नेकपा (एमाले) नै हो' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कम्यूनिष्ट अन्दोलनमा देखिएका सबै खाले वैचारिक विचलन विरुद्ध संघर्ष गर्दै फेरी पनि कम्युनिष्ट अन्दोलनलाई एकतावद्ध गर्ने ऐतिहासिक अभिभारा पनि नेकपा (एमाले) कै काँधमा रहेको दाबी गर्दै पार्टी प्रवेश गरेको उनको भनाइ छ।
वैशाख ३० को स्थानीय तहको चुनावमा एमालेले बहुमत ल्याई मलकलाई सही निकाश दिने कुरामा कुनै सन्देह नरहेको बताउँदै उनले एमालेका शीर्ष नेताहरुको सर-सल्लाह र परामर्शमा पार्टीको हितको लागि गोसाईकुण्ड गाउँपालिका प्रमुखबाट उम्मेदवारी फिर्ता र माओवादी केन्द्र पार्टी परित्याग गर्ने निर्णय लिएको जनाएका छन्।
'यसबाट मेरो लाखौं समर्थक र सुभचिन्तकहरुमा पर्न गएको आघात प्रति म हृदयदेखि नै क्षमा प्रार्थी छु। आज कै मिति देखि नेकपा माओवादी केन्द्रको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहने गरी पार्टी परित्याग गरि नेकपा (एमाले) पार्टीमै रहेर देश, समाज र स्थानिय विकासको लागि प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गर्दछु' तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।