काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेलको सहमति भएको छ।
दुवै पार्टीको वार्ता टोलीबीच बिहीबार भएको सहमति अनुसार एकल उम्मेदवारी दिएका पार्टीले अब संयुक्त उम्मेदवार खडा गर्ने भएका हुन्।
शुक्रबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भएकाले सहमतिका आधारमा अध्यक्ष र उपाध्यक्षमा संयुक्त उम्मेदवार मात्रै राख्ने सहमति भएको हो। जसअन्तर्गत नेकपा एमालेले गाउँपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा साझा उम्मेदवार बनाउने सहमति भएको हो।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने सहमति दुई दलबीच भएको हो।
त्यस्तै नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवारी दिएकी मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गर्न लगाएर नेकपा माओवादी केन्द्रकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइने सहमति भएको छ।
वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन्। त्यस्तै नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ।
शुक्रबार साँझ दुवै पार्टीका तर्फबाट संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको छ। उनीहरुले संयुक्त घोषणापत्र तयार गरेर प्रचार प्रसार गर्ने र पार्टीका दुवै कमिटीबाट संयुक्त संयन्त्र निर्माण गर्ने पनि सहमति भएको छ। सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रवण जिसी उम्मेदवार छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।