काठमाडौं– पाँचदलीय सत्ता गठबन्धनले पोखरा महानगरपालिकामा एकवर्षे कार्ययोजनासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा पदवहाली गरेदेखि एक वर्षसम्मको कार्ययोजना समेटिएको छ।
समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार नारासहित गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो। घोषणा पत्रमा २५ बुँदे कार्ययोजना नै समेटिएको छ।
प्रतिबद्धता कार्यान्वयनका लागि ७ वटा आधारहरू तयार पारिएका छन्। नेतृत्व सीप र क्षमता, पूँजीको व्यवस्थापन, सामाजिक परिचालन, दिगोपना, नागरिक अपनत्व, सहभागितात्मक योजना तर्जुमा, सेवाग्राही मैत्री, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह लगायतका आधारहरू त्यसमा राखिएका छन्।
महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने भनिएको छ। उक्त कार्य निर्वाचित पदाधिकारीले पदबहाली गरेको दिनमा नै गरिने भएको छ। बाँकी कार्ययोजनालाई एक महिनादेखि एक वर्षभित्रमा सम्पन्न गर्ने भनिएको छ।
महानगरवासीलाई मासिक पाँच हजार लिटर शुद्ध खानेपानी निःशुल्क वितरण गरिने पनि उल्लेख गरिएको छ। पोखरालाई मास टुरिजमको हबको रुपमा विकास गरिनेछ भने यसका लागि प्रर्वद्धन गर्ने तात्कालिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। पर्यटकीय गतिविधिलाई २४ घण्टा खुल्ला राख्न पहल गरिने छ।
पोखरामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।