चितवन- भरतपुर महानगरपालिकामा कांग्रेसका तर्फबाट बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन पुगेका कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई थप मिहिनेत आवश्यक भएको छ।
बिहीबार बिहान पौडेलको घर पुगेका खाणलाई पौडेलले आफूले मात्रै निर्णय गरेर नहुने जवाफ दिएका छन्। खाणसँगको भेटवार्तापछि पौडेलले आफूले उम्मेदवार फिर्ता नलिने अडान दोहोर्याएको बताएका छन्।
उनले भने, 'चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यका लागि उम्मेदवार बनेको हुँ। फिर्ता लिने विषय मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन।'
आफ्ना कारणले केन्द्रीय गठबन्धन र सरकारलाई असर नपर्ने उनले बताएका छन्। परिस्थिति धेरै अघि बढिसकेकाले अब सम्भव नभएको समेत बताएको उल्लेख गरेका छन्।
उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै खाणले विशेष अवस्थामा गठबन्धन भएकाले यसलाई जोगाउन उम्मेदवारी फिर्ता जरुरी भएको बताएका थिए। खाणले भेटपछि पत्रकारहरुसँग भनेका थिए, 'पौडेलजी पार्टीको प्रतिबद्ध कार्यकर्ता हो। पार्टीको निर्णयलाई मान्नुहुन्छ भन्ने विश्वास छ। विशेष अवस्थामा गठबन्धन भएको भएकाले यसलाई जोगाउन आवश्यक छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।