काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्। उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए।
उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरू लागिरहेको पनि बताए। ‘नेपाली कांग्रेस पार्टीलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दाखेरी कांग्रेसले क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भातृ संस्थाहरुको व्यवस्थापन गर्नुपर्ने र उम्मेदवार चयनको प्रक्रियाको सन्दर्भमा एउटा नवीन शैलीलाई निरुपण गर्नुपर्ने, नवीन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छ’, उनले भने।
महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए। उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे।
काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतिय गाडी विस्तार गरिने पनि उनको भनाइ छ।
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरूलाई निर्देशन दिए। मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।