फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको 'गेम ओभर' भएको बताएका छन्।
काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनाइएकी सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले स्थापितको शब्द सापटी लिएर उनको हार निश्चित भएको बताएका हुन्।
'स्थापितजी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ- गेम इज ओभर रे। म भन्छु- उहाँको 'गेम इज ओभर'। अब बागमतीमा धेरै पानी बगिसकेको छ। फेरि फर्केर आउने सपना नदेखे हुन्छ', उनले भने।
स्थापितले उम्मेदवारी दर्ता गरेर फर्केपछि पत्रकारहरुसँग आफ्नो जित निश्चित भएको भन्दै 'गेम इज ओभर' भन्ने प्रतिक्रिया दिएका थिए।
महतले राजनीति भनेको मनोरञ्जन नभएको स्मरण गराए। 'देश नै मनोरञ्जनमय भएको छ। हुँदाहुँदा हामीलाई के लाग्न थालेको छ भने राजनीतिमा जसले बढी मनोरञ्जन दिन्छ, त्यसलाई निर्वाचित गर्ने हो कि भन्ने भ्रम पर्न थालेको छ। राजनीति भनेको मनोरञ्जन होइन', एमाले अध्यक्ष केपी शर्मा ओली र स्थापितलाई लक्षित गर्दै महतले भने।
उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गरे। 'काठमाडौं महानगरपालिका जित्ने भनेको, यसको प्रमुख जित्ने भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हो। त्यसैले उहाँ (सिंह)लाई अत्यधिक बहुमतले जिताउन म विनम्र आग्रह गर्दछु', उनले भने।
उनले अरुले कुरा गर्ने तर नेपाली कांग्रेसले काम गर्ने बताए। 'त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ', महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।