काठमाडौं- नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु हारे भने सबैभन्दा बढी कांग्रेसको नाक खुम्चिने बताएका छन्।
काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनाइएकी सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले भने- 'गठबन्धन हार्यो भने सबैभन्दा नाक खुम्चिने कांग्रेसको हो। गठबन्धन हार्यो भने दोस्रो बढी नाक खुम्चिने माओवादी केन्द्रको हो। त्यसपछि एकीकृत समाजवादीको हो।'
प्रधानले गठबन्धन भइसकेपछि त्यसको सिद्धान्त र नीति अनुसार उम्मेदवारहरुलाई भोट दिनुपर्ने बताए। 'उहाँहरु (गठबन्धन आबद्ध दलहरु)ले पनि हाम्रो उम्मेदवारलाई भोट दिनुपर्छ। अनि मात्र गठबन्धनको जित निश्चित छ। गठबन्धनमा कुनै तलमाथि, एक अर्कालाई घात प्रतिघात गर्ने अवस्था आयोग भने त्यसले मुलुकमा द्वन्द्वको स्थिति आउन सक्छ। द्वन्द्वको सिर्जना रोक्नका लागि पनि हामीले गठबन्धनलाई जिताउनै पर्छ', उनले भने।
यसपालिको चुनाव नेपाली कांग्रेस भर्सेस एमाले, एकीकृत सामाजवादी भर्सेस एमाले वा माओवादी केन्द्र भर्सेस एमाले नभएको उनले स्मरण गराए। 'यसपालिको चुनाव भनेको गठबन्धन भर्सेस एमाले हो। यो गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र अन्य केही पार्टीहरु जोडेर आएको अवस्था छ', उनले भने।
प्रधानले अहिलेको गठबन्धन केपी ओलीको दुई/दुई पटकको प्रतिनिधि सभा विघटन पश्चातको एउटा विशेष राजनीतिक परिस्थितिको बाध्यात्मक उपज भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।