काठमाडौं– गृहमन्त्री बालकृष्ण खाण चितवन पुगेर बागी उम्मेदवारी दिएकाहरूलाई फकाउन सुरु गरेका छन्।
सत्ता गठबन्धनको तालमेलमा माओवादी केन्द्रलाई मेयर परेको भतरपुर महानगरपालिकामा नेपाली कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि गृहमन्त्री खाण कार्यकर्तालाई फकाउन चितवन पुगेका हुन्।
उनीभन्दा अघि प्रधानमन्त्री कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए। खाणले आजै पूर्वजिविस सभापति कृष्णलाल सापकोटालाई भेटेका छन्। पूर्वसांसद समेत रहेका जगन्नाथ पौडेलेको उम्मेदवारी फिर्ता नहुँदा सत्ता गठबन्धनमा असर पर्ने भन्दै उनले उम्मेदवारी फिर्ताका लागि पहल गर्न आग्रह गरे।
पौडेलको प्रस्तावक सापकोटा रहेका छन्। उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी रेणु मेयरमा उठेकी छन्। सापकोटाको निवासमा पुगेर गृहमन्त्री खाणले गठबन्धन अहिलेको आवश्यकता भएकाले पार्टीभित्र विद्रोहभन्दा मिलेर जानुपर्ने कुरा राखेको भेटमा सहभागी एक कांग्रेस नेताले बताए।
तर, सापकोटाले आफूहरूले रुखमा भोट हाल्ने माग गरेकाले अहिले नै फिर्ताको कुनै योजना नबनाएको जवाफ दिएको ती नेताले बताए। गृहमन्त्री खाणले आजै बागी उम्मेवार पौडेललाई पनि भेट्दै छन्। पौडेललाई पनि उनले अहिलेको अवस्था बुझेर निर्णय लिन आग्रह गर्दै सहमत गराउने प्रयास गर्ने छन्।
निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नुअघि बागी उम्मेदवारी फिर्ता गराउने प्रयासमा खाणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन पठाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।