काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधाबारसम्म ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ। आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको छ । २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको आयोगले जनाएको छ।
आयोगले बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरामा मतपत्र पठाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा पनि मतपत्र पठाइएको छ। पठाइएका मतपत्र केही दिनभित्रै सम्बन्धित पालिकामा पुगिसक्ने उनले जानकारी दिए।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो।
निर्वाचनका लागि कुल १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ। आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्रीसमेत ढुवानी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।