काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ।
एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न उक्त पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते दुवै पार्टीबीच एकतासभा गरिने जनाइएको छ। सभा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा हुनेछ। एमालेबाट अलग भएको एकीकृत समाजवादीले स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।