काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन्।
बुधबार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्। उनले एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस परियोजनाले नेपालमा गरिबी निवारण र रोजगारी अभिवृद्धिका लागि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे। गृहमन्त्री खाणले पूर्ववर्ति सरकारले करिब ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए।
उनले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने समेत बताए। यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने उनको दाबी छ।
गृहमन्त्री खाणले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यकालमा नेपाली कांग्रेस देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गरे। उनले जितसँगै नेपाली कांग्रेसको अग्रसरतामा देशले विकासमा फड्को मार्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।