भरतपुर– नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण चितवनको भरतपुर पुगेका छन्। भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका कांग्रेस नेता एवम् पूर्व सांसद जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिने विषयमा 'पहल गर्न' खाण भरतपुर पुगेका हुन्।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको 'दूत' बनेर खाण भरतपुर पुगेका हुन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाणले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए।
‘बागीलाई मिलाउन मैले प्याकेज त ल्याएको छैन। मन ल्याएर आएको छ। म उहाँहरूलाई सम्झाउँछु। उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ,’ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाणले भने।
सत्ता गठबन्धनको शीर्ष तहमा भएको सहमतिअनुसार भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो। माओवादी केन्द्रकी रेनु दाहालले मेयरको उम्मेदवारी दर्ता गराइसकेकी छन्।
गठबन्धनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता पौडेलले पनि भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले उम्मेदवारी दर्ता गराएपछि माओवादी केन्द्रका अध्यक्ष एवम् भरतपुरको मेयरकी उम्मेदवार रेनुका बुवा पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार चितवन पुगेका थिए।
चितवन पुगेर प्रचण्डले कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेललाई समेत भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।