काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई स्वास्थ्यको खाल राख्न सुझाव दिएका छन्। ओलीलाई 'बुढा बा' भन्दै कांग्रेस महामन्त्री थापाले सन्किएर काम नगर्न पनि सुझाव दिएका छन्।
बुधबार स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषय कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रका बारेमा गरेको टिप्पणीको समेत जवाफ दिएका छन्।
‘घोषणा पत्रको बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही विषयमा टिप्पणी गर्नुभएको सुने। मैले साथीहरुलाई भने उहाँले सफा बोले पो, शालीन बोले पो समाचार भयो। मुखमा अंगार छ, उसले ओकल्ने कालो नै हो। यो नयाँ कुरा नै होइन,’ गगनले भने,‘केपी ओली झुट बोल्नुहुन्छ। उहाँको झुटलाई कसैले चुनौती दियो भने पागल भन्ने गर्नुहुन्छ।’
ओलीलाई प्रशंसाको बानी सुन्ने रहेको भन्दै झुटको पर्दाफास भएपछि उनलाई रिस उठेर तथानाम बोल्ने काम गरेको थापाको भनाइ छ। ‘म यत्ति मात्रै भन्छु– बुढा ‘बा’ धेरै सन्किएर काम नर्गुस्। शरीरलाई अप्ठ्यारो गर्ला। शरीरलाई ध्यान दिनुहोला,’ उनले भने।
आफूले समुन्नत नेपालको अवधारणा ल्याउँदा ओलीले 'सुखी नेपाली, समृद्ध नेपाल'को नारा चोरेको भन्ने टिप्पणी गरेको भन्दै थापाले आफूले यस विषयमा बालकोट नै गएर एमाले अध्यक्ष ओलीलाई टिउसन पढाउनुपर्ने बताए।
‘तपाईंको समृद्धिमा अहंकारको भूटावर छ। हाम्रो समुन्नतमा दुःखमा परेका जनताको खोजी छ। तपाईंको समृद्धिमा राष्ट्र भनेर मुठी कस्दै गर्दा घृणा, रिस छ। जातलाई उचाल्ने काम छ,’ उनले भने,‘हाम्रोमा त्यो छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।