काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बुधबार बसेको बैठकले पार्टी मातहतका कमिटीलाई विभिन्न सात बुँदे निर्देशन दिएका छन्। उनीहरूले स्थानीय निर्वाचनका लागि परेका बागी उम्मेदवारी फिर्ता लिन भनेका छन्।
'६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने,' निर्देशनको पहिलो बुँदामा भनिएको छ।
त्यस्तै, गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने भनिएको छ। ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै (बुधबार) राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्देशन पनि छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडैलले हस्ताक्षर गरेको सो विज्ञप्तिमार्फत नगरपालिका र गाँउपालिकाहरूमा गठबन्धनका दलहरूका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्ने भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।