काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्वतन्त्र र बागी उम्मेदवारी दिएका पार्टीका नेता/कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्कन आग्रह गरेका छन्।
पार्टीबाट टिकट नपाएर वा अन्य विविध कारणले बागी उम्मेदवार बनेकाहरुलाई उनले पार्टीको मूल प्रवाहमा फर्कन र पार्टीको निर्देशनअनुसार चल्न आग्रह गरेका हुन्। बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभर नै असन्तुष्टि रहेको आफूले सुनेको पनि उल्लेख गरेका छन्।
लामो समयदेखि पार्टीमा बसेर काम गरिरहेका नेता/कार्यकर्ताले पार्टी छाड्नुपर्ने अवस्था आउनु दुःखद भएको समेत उनको भनाइ छ। ‘अहिले टिकट वितरणलाई लिएर साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु,’ उनले लेखेका छन्, ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन्।’
टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्नेसमेत सुनिएको उनले बताएका छन्। पार्टीभित्र न्यायका लागि आफूहरू लड्ने उनको भनाइ छ। ‘साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु। पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु,’ उनले भनेका छन्, ‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं। तर पनि हामी लड्छौं। र अन्ततः जित सत्य र न्यायको हुन्छ। हामी निरास हुने छैनौं।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।