काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जवाफ फर्काएका छन्। उनले एमालेको जस्तो उडन्ते सपनाहरुको गफको पुलिन्दा लेख्न काँग्रेसलाई नआएको बताएका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन् 'मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेती´को सपना देखाउनमात्रै बाँकी राख्नु भएको छ तपाईंले। माफ गर्नोस् श्रद्धेय कमरेड `उडन्ते सपनाहरुको गफको पुलिन्दा´ लेख्न काँग्रेसलाई आएन !'
उनले जिम्मेवार सपना उडन्ते गफजस्तो हावामा उडिनरहने बताएका छन्। 'सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ!' उनले थपेका छन्, 'जमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्धेय ओलीलाई मन परेन ठीकै छ l तर कम्तिमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !'
चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरित्रसम्मको चिरफार गर्नुपर्ने शर्माको भनाइ छ। 'खरा प्रश्न गर्न जनतालाई अपील गरौं, जिम्मेवार ढंगले जवाफ पेश गरौं। तर मर्यादाभन्दा तल गालिमा नझरौं,' उनले भनेका छन्, 'सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्चतहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिंदैन, चेतना भया!'
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस घोषणा पत्रलाई 'पागलहरुको प्रलाप' भनेर टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।