काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। महतले ओलीले मंगलबार दिएको अभिव्यक्ति खेदजनक रहेको समेत बताएका छन्।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए।
ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उनले खेद् प्रकट गरे। ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दापनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन्।
एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए। प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्।
उनले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।