काठमाडौं- चुनाव लड्नका लागि उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसाल र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट राजीनामा दिएका गोविन्द साहले टिकट नै पाएनन्। दुवैले नेपाली कांग्रेसबाट टिकटको अपेक्षासहित जागिर छाडेर राजनीति रोजेका थिए।
नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्नका लागि भुसालले उपसचिवबाट राजीनामा दिएका थिए। देवचुली नगरपालिकामा उनले प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए। त्यहीँका मतदाता भएका कारण उम्मेदवार बन्ने अपेक्षा गरेका थिए।
उक्त नगरपालिकामा कांग्रेसबाट अशोक बस्ताकोटी मेयरका उम्मेदवार बनेका छन्।
यसैगरी, धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भन्दै राजीनामा दिएका साहले पनि टिकट पाएनन्।
टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाल लाइभसँग कुरा गर्दै पूर्वएसएसपी साहले लोकतन्त्र जोगाउन आफू मैदानमा उत्रिएको बताएका छन्। अन्य प्रतिष्पर्धीको जनाधार कमजोर भएका कारण जित्ने दाबी गरेका छन्।
कांग्रेसबाट मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो। तर, अन्तिममा यादवले टिकट पाए।
चुनाव लड्ने भन्दै एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो। २०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका साह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।