काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेहरूको पछिल्लो सूची प्राप्त भएको छ। जसअनुसार १ लाख ४१ हजार ४६८ को मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगको प्रणालीमा अद्यावधिक भएको पछिल्लो सूची अनुसार प्रमुखमा ३ हजार ३१८ र अध्यक्षमा ३ हजार ३०६ जनाको मनोनयन दर्ता भएको छ। त्यस्तै, उपप्रमुखमा २ हजार ३६ र उपाध्यक्षमा २ हजार ३४३ जनाको मनोनयन दर्ता भएको छ।
त्यस्तै, वडा अध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको मनोनयन दर्ता भएको छ। सबैभन्दा धेरै मधेश प्रदेशमा ३६ हजार २७५ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ।
७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए। आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।