काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रले पार्टीको हविगत दर्शाएको टिप्पणी गरेका छन्। जनताले उक्ता घोषणापत्र नपढ्ने भन्दै आफ्ना कार्यकर्तालाई कांग्रेस चिन्नका लागि पढ्न निर्देशन गरे।
उनले भने, 'कांग्रेसको घोषणापत्र जनताले त पढ्दैनन्, हामीले चाहिँ कांग्रेस चिन्नका लागि पढ्नुपर्छ। कांग्रेसको घोषणापत्र पढेर कांग्रेसको हविगतको इन्जोय गर्नुहोस्।'
कांग्रेस समर्थित कोही बुद्धिजिवी भए कांग्रेसको घोषणापत्रका पक्षमा लेख्ने हिम्मत गरेर देखाउन समेत ओलीले चुनौती दिए।
उनले आफूले हेर्दाहेर्दै कांग्रेस यो हदमा पुगेको बताए। कांग्रेस नेताहरु कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद बित्दा नीति, विचार र सिद्धान्त सँगै लगेको बताए।
उनले थपे, 'उहाँहरु बित्दा नीति, सिद्धान्त र विचार सवै लिएर जानुभएछ कि के हो। अहिले केही बाँकी छैनन्।'
२०६२/०६३ सम्म सँगै हिँडेको कांग्रेससँग अहिले देशका बारेमा कुनै चिन्तन र अजेन्डा नहुँदा आफू दु:खी भएको ओलीको भनाइ छ। देशमा एउटा शासन गर्ने र अर्को वाचडगका रुपमा प्रतिपक्षमा हुनुपर्ने बताउँदै कांग्रेस सत्ताका लागि सवथोक गर्ने तहमा पुगेको बताए।
उनले भने, 'सत्ता पाउन र टिकाउन कांग्रेसले जे पनि गर्छ। अहिले गठबन्धन नामको कुहिएको लौरी समातेको छ। त्यो कुहिएको ढोडको लौरो यही चुनावमा भाँचिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।