काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता नभेटेको बताएका छन्।
मनमोहन स्मृति प्रतिष्ठानले अधिकारीको २३ औं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,’उनले भने,‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो।’ पार्टी स्थापना हुनु भन्दा अघि नै मजदुरको हक अधिकारकालागि लडेको र भारतबाट ब्रिटिश भगाउ आन्दोलनमा लागेको ओलीले बताए।
‘नेपालका कम्युनिष्ट मध्ये मनमोहन अधिकारी जेष्ठ कम्युनिष्ट हुन्। मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता मैले भेटेको छैन,’उनले भने,‘पार्टी स्थापना हुनु भन्दा अगाडि नै कम्युनिष्ट हुनुहुन्थ्यो।’
अधिकारी महान उदेश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ। ‘उहाँले जीवनमा कहिले हतारो गर्नुभएन। आरामले काम गर्ने शैली थियो,’उनले भने,‘अलिअलि हतारो नगर्ने उहाँको शैली म मा पनि छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।