काठमाडौं– उम्मेदवारी मनोनयनको दोस्रो तथा अन्तिम दिन आज (सोमबार) मनोनयनका क्रममा विभिन्न ठाउँमा झडप भएका छन्।
यस पटकको अधिकांश झडप भने एउटै पार्टीका दुई पक्षबीच भएको छ। अघिल्ला चुनावको बेला एक–अर्को पार्टीबीच झडप हुने गरेकोमा यो पटक पार्टीभित्रकै गुट–उपगुटबीच झडप भएको देखिन्छ।
मनोनयन दर्ताको क्रममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप भयो। टिकट पाउने र स्वतन्त्र उम्मेदवारी दिने समूहबीच झडप भएको हो।
दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि अश्रुग्यास समेत प्रहार भएको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइयो। त्यसपछि त्यहाँ सेना समेत परिचालन गरिएको छ।
माओवादी केन्द्रले उक्त नगरपालिकामा कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ। २०७४ सालमा मेयर बनेका अमनसिंह तामाङले दोहोरिन चाहेका थिए। तर, टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
त्यसैगरी, खोटाङमा आफ्नै कार्यकर्ताबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार लखेटिए। खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा मेयरमा उम्मेदवारी दर्ता गराउन पुगेका धर्मराज पोखरेललाई कांग्रेस कार्यकर्ताहरुले नै लखटेका हुन्। उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए।
कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि दिक्लेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो। त्यसपछि पोखरेल उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर लिएर पुगेका थिए।
पोखरेल नभइ कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई मेयरको टिकट दिनुपर्ने माग कार्यकर्ताको थियो।
दिक्तेलका सबै वडा, नगर कमिटी र जिल्ला समितिले भट्टराईलाई सिफारिस गरेपछि प्रदेशले पोखरेललाई टिकट दिएको हो।
कार्यकर्ताबाट पोखरेल लखेटिएपछि उनको टिकट खोसेर अन्तिममा भट्टराईलाई नै टिकट दिइएको छ।
उता काभ्रेपलाञ्चोकमा आइतबार कांग्रेसकै दुई गुटबीच झडप भयो। नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवादमा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका थिए।
कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले उनीमाथि कुटपिट गरेका थिए। उनै लामाले मेयरको टिकट पाएर सोमबार मनोनयन दर्ता समेत गराइसकेका छन्।
पाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।