काठमाडौं- स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न लागेकाहरुले अहिले पनि प्रतिनिधि सभा वा प्रदेश सभाको बन्दसूचीमा रहेको नाम हटाउन अनुरोध भइरहेको निर्वाचन आयोगले बताएको छ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बन्धित दलको केन्द्रीय समितिबाट निर्णय भएर बन्दसूचीबाट नाम हटाउन अनुरोध भएको अवस्थामा आयोगले हटाउँदै आएको बताए।
'सम्बन्धित दलको केन्द्रीय समितिबाट निर्णय भएर आएको खण्डमा आयोगले हटाएको छ। र, त्यो क्रम जारी छ। पाँच बजेसम्म मनोनयन जारी छ। अहिले पनि कतिपयले बन्दसूचीबाट नाम हटाउन अनुरोध भइआएको छ। त्यसलाई हामीले सहजीकरण गरिरहेका छौँ। अहिले पनि हटाइरहेका छौं', उनले भने।
कहिलेसम्म हटाउने र हटाउनका लागि कहिलेसम्म निवेदन दिनुपर्ने भन्ने व्यवस्था नभएको उनले बताए। '५ बजेपछि त कसैले हटाउन अनुरोध गरेर पनि अर्थ छैन। गर्दा पनि गर्नुहुन्न। जुन प्रयोजनको लागि हटाउन खोजिएको हो। त्यो प्रयोजन नै समाप्त भइसकेको हुन्छ। तर, त्योभन्दा अगाडिसम्म हामीले सहजीकरण गर्छौँ', उनले भने।
दलले हटाउन अनुरोध गरेको अवस्थामा हटाएर छिटो माध्यमद्वारा निर्वाचन अधिकृतको कार्यालयमा पठाउने गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।