काठमाडौं– जातीय विभेद सम्बन्धी अभिव्यक्ति दिएर विवादमा परेका कृष्ण थापालाई नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको टिकट दिएको छ।
थापाभन्दा अघि दीपक पौडेललाई एमालले पोखरा महानगरको मेयरको टिकट दिएको थियो। तर, उनै पौडेलले सुन चोरेको भिडियो भाइरल भएर विवाद भएपछि पौडेलको टिकट खोसिएको थियो। पौडेलले टिकट पाएपछि पुरानो भिडियो अर्को पक्षले भाइरल बनाएको थियो।
पौडेलको टिकट खोसेर थापालाई दिएपनि थापा समेत विवादित पृष्ठभूमिका रहेको पाइएको छ। थापा यसअघि २०५४ सालमा समेत पोखराको मेयर भएका थिए। पछि उनी प्रदेश सांसद समेत भए। सांसदमा विजयी भएपछि थापाले जातीय विभेद गरेको आरोप समेत लागेको थियो।
उनले पीडक पक्षको पक्षपोषण गरेको भन्दै पार्टीभित्रैबाट कारबाहीको माग गरिएको थियो।
पोखरा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको दुबईमा मृत्यु भएपछि किरिया गर्न सार्वजनिक किरिया समाजघर दिन थापाले वञ्चित गरेको आरोप थापामाथि छ।
उक्त विषयमा उजुरी परेपछि केही व्यक्तिलाई त्यसबेलै प्रहरीले पक्राउ समेत गरेको थियो। अनुसन्धान भइरहेको उक्त विषयमा थापाले विवादास्पद विज्ञप्ति निकाल्दै पीडकको पक्षपोषण गरेको आरोप लागेको थियो।
थापाले जातीय विभेदका घटनालाई समर्थन गरेको भन्दै उनीविरुद्ध मोहन सुनारले किटानी जाहेरी दिएका थिए। पछि थापाले गल्ती भएको बताउँदै माफी मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।