काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनभित्र कुनै पनि दललाई अर्को कुनै दलले नपेलेको बताएका छन्। तर, हरेक दललाई आफू पेलिएको अनुभूति हुनु स्वाभाविक रहेको उनले बताए।
कांग्रेस र माओवादीले एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई पेलेको भनेर आइरहेका गुनासाका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा महराले यस्तो बताएका हुन्।
सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा उनले भने, 'कतै कसैले पेल्या अनुभूति हुन्छ। त्यो त हुन्छ नै। गठबन्धनमा के हुन्छ भने, गठबन्धन भनेकै फरक विचार राख्ने पार्टीहरूबीचको संयुक्त मोर्चा हो। त्यसकारण भन्याजस्तो कहीँ पनि हुँदैन।'
उनले कुनै पनि दल र उम्मेदवारले आफूलाई पेलेको अनुभूति नगरेर गठबन्धनका पक्षमा लाग्न आग्रह गरे। गठबन्धनको मान्यतालाई मानेर आफ्नो हैसियत, क्षमता जति छ त्यो अनुसार भएको महराले दाबी गरे।
'कतै कतै के भएको छ भने कांग्रेसबाहेक सबै मिल्याछ। त्यस्तो पनि देखिन्छ। कतै कतै माओवादीबाहेक सबै मिल्याछ। तर, यो कुरा विस्तारै मिल्छ। विस्तारै अगाडी बढ्छ', महराले भने।
उनले यो स्थानीय निर्वाचनमा माओवादीले एमालेसँग भने तालमेल नगर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।