काठमाडौं– नेपाली कांग्रेसका नेतासमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले छुटपुट रुपमा उम्मेदवारी दर्ता भए पनि अन्तिम समयमा गठबन्धनका उम्मेदवार देशभर एउटै हुने बताएका छन्।
बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘पाँच दलको मर्म र भावनाअनुसार अगाडि बढ्ने आन्तरिक असमझदारीलाई हल गर्ने कुराकानी भएको छ,’ उनले भने, ‘जनमतलाई ध्यानमा राखेर अघि बढिन्छ।’
पाँच दलको निर्णयअनुसार नै मनोनयन दर्ता गर्न देशभर आ–आफ्ना संयन्त्रलाई निर्देशन दिने निर्णय पनि भएको उनले बताए। ‘केही असमझदारी छन्। सिट थोरै छ योगदान गरेका धेरै साथीहरु छन्। उहाँहरुको आकांक्षा ठीकै हो,’ उनले भने, ‘पार्टीको निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन। उहाँहरुले निर्देशन मान्नुपर्छ।’
पाँच दलले खडा गरेका उम्मेदवारलाई जिताउनका लागि देशभर संयन्त्र अन्तर्गत नेता कार्यकर्तालाई निर्देशन दिइने उनले बताए। ‘छुटपुट उम्मेदवारी दर्ता भए पनि सहमति गरेर पाँच दलको उम्मेदवारहरु देशभर एउटै हुनेछन्,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।