काठमाडौं– कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने भन्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट राजीनामा दिएका गोविन्द साहले टिकट नै पाएनन्।
धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भन्दै राजीनामा दिएका साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै पूर्वएसएसपी साहले भने, ‘जनाधार नै नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ। उहाँले चुनाव हार्नुहुन्छ। मैले स्वतन्त्र उम्मेदवारी दिए पनि कांग्रेसको भोटले नै जित्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छु।’
मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो। तर अन्तिममा यादवले टिकट पाउने निर्णय पार्टीले गरेपछि साह स्वतन्त्र भएर चुनानी मैदानमा उत्रन लागेका हुन्।
चुनाव लड्ने भन्दै एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो। २०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।