काठमाडौं– नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर जाने सहमति भए पनि विभिन्न ठाउँमा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै पाँच दलीय गठबन्धनको बैठकमा आपत्ति जनाएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरू बैठकमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका हुन्।
नेता खनालले पनि बैठकमा आफूहरुले गठबन्धनका नाममा आफ्नो पार्टीमाथि भएको अन्यायका विषयमा प्रष्ट धारणा राखेको नेपाल लाइभलाई जानकारी दिए। ‘विभिन्न ठाउँमा हाम्रो पार्टीलाई अन्याय गरिएको कुरा हामीहरुले दलका नेताहरु समक्ष राखेका छौं,’ उनले भने। उनले आफ्नो पार्टीमाथि अन्याय भए पनि जनता समक्ष जाने र जनताको मन जित्ने प्रष्ट पारे। ‘हामी अरुको भरोसा गरेर बस्दैनौं जनताको साथ लिएर अगाडि बढ्ने हो,’ उनले भने।
केन्द्रमा शीर्ष नेताहरुबीच तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको थियो। सोही अनुसार महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले सिट बाँडफाँड गरेका थिए। तर, जिल्ला तहमा भने कतिपय स्थानमा गठबन्धन दलमा रहेको नेकपा एकीकृत समाजवादीलाई कुनै पनि स्थानीय तहमा उम्मेदवार बनाइएको छैन।
तल्लो तहमा कतै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल भएको छ भने कतिपय ठाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ। जनता समाजवादीले पनि केही ठाउँमा तालमेल गरे पनि सहमति हुन नसक्दा अधिकांश स्थानमा एक्लै उम्मेदवारी दिने तयारी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।