काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत महानगर र उपमहानगपालिकाका लागि मेयर र उपमेयरको नाम टुंगो लगाएको छ।
सोमबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पाँच दलीय गठबन्धनको निर्णय अनुसार पार्टीले प्राप्त गरेका महानगर र उपमहानगर पालिकाहरुमा पार्टीको तर्फबाट प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको महासचिव बेदुराम भुसालले जानकारी दिए।
एकीकृत समाजवादीले पोखरा महानगरपालिका प्रमुखमा धनराज आचार्य, हेटौडा उपमहानगरपालिका प्रमुखमा मिना लामा, काठमाडौं महानगरपालिका उपप्रमुख रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिका उपप्रमुख केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिका उपप्रमुख चिनबहादुर गुरुङ तथा तुल्सीपुर उपमहानगरपालिका उपप्रमुख जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको भुसालले जानकारी दिए।
पार्टीका तर्बाट उम्मेदवार बनेका सबैले पार्टीको चुनाव चिह्नबाट चुनाव लड्न एकीकृत समाजवादीले जनाएको छ।
पाँच दलीय गठबन्धनभित्रका दलहरुबीच तालमेलको सहमति भएका स्थानमा सहमति अनुसारको उम्मेदवारी मात्र दिने र तालमेल नभएका सबै स्थानमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको भुसालले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।