काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिनको समय सकिएको छ। अब सोमबार मनोनयन दर्ताको अन्तिम दिन हो।
पहिलो दिन देशभर स्वतन्त्र उम्मेदवार र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। पाँच दलीय सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आइतबार पहिलो दिन मनोनयन नै दर्ता गराएनन्।
दलका नेताहरुले सोमबार अन्तिम दिन मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। अहिलेसम्म पनि पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ वटा महानगर र ११ उपमहानगर अन्तर्गत अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाइसकेको छ।
देशका ७५३ स्थानीय तहमध्ये अधिकाशं नगरपालिका र गाउँपालिकामा पनि एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छ। तर, गठबन्धन दलले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गरेका थिए। तीमध्ये नेकपा एकीकृत समाजवादीको भागमा परेको पोखरा महानगरपालिकामा मेयरमा गठबन्धनबाट साझा उम्मेदवारका रुपमा एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य सिफारिस भइसकेका छन्। तर, बाँकी पालिकाबारे टुंगो नलागेकै कारण आइतबार उम्मेदवारी दर्ता गरेका छैनन्।
महानगरमा समाजवादीले पाएको उपमेयरमा पनि टुंगो लगाइसकेको छ भने उपमहानगरमा पनि निर्णय गरिसकेको छ। उता नेकपा माओवादी केन्द्रको भागमा परेको भरतपुर महानगरपालिकामा पनि टुंगो लागेको छैन। यद्यपि, त्यहाँ वर्तमान मेयर रेणु दाहाललाई नै माओवादी केन्द्रले उम्मेदवार बनाउने आन्तरिक निर्णय गरिसकेको छ।
वीरगञ्जमा पनि जसपाले मेयरको टुंगो लगाइसकेको छैन। पाँच दलीय गठबन्धनमा केन्द्रमा सहमति भए पनि प्रमुख र उपप्रमुख बाहेकका वडा र सदस्यमा सिट बाँडफाँड कसरी गर्ने भन्ने सहमति जुट्न नसक्दा अन्योल नै देखिएको छ। उपमहानगरमा पनि अवस्था त्यस्तै छ।
ललितपुर महानगरपालिकामा त एकीकृत समाजवादी असन्तुष्ट बनेर मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवारी दिने तयारी गरेको छ। मनोनयनको समय अब सोमबार मात्रै बाँकी रहँदा पनि दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा सकसपूर्ण देखिएको छ।
सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले अहिलेसम्म महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। जिल्ला तहमा पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन।
कांग्रेसको भागमा परेका तीनवटा महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी केन्द्रीय संसदीय समितिले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। यद्यपि, देउवालाई जिम्मेवारी दिने निर्णयमा संस्थापनइतर पक्षले भने असन्तुष्टि जनाएको छ।
आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गठित संसदीय समितिको बैठकले महानगरमा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्नेको नाम टुंगो लगाउने जिम्मेवारी देउवालाई दिएको हो। कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रमुख तथा पोखरा, भरतपुर र वीरगञ्ज महानगरपालिकामा उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ। कांग्रेस शीर्ष नेताहरूको निरन्तरको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाए पनि अन्य उम्मेदवारहरू टुंग्याउन सकेको छैन।
देउवाले आजै मध्यरातसम्ममा उम्मेदवारको टुंगो लगाउने र सोमबार मनोनयन दर्ता गरिने उनीनिकट नेताहरुले बताएका छन्। नेपाली कांग्रेसभित्र केन्द्रमा मात्रै होइन जिल्ला तहमा गठबन्धन गर्ने निर्णयको चर्को विरोध भएको छ। आइतबार कास्कीमा असन्तुष्ट कार्यकर्ताले जिल्ला तहका नेताहरुलाई पार्टी कार्यालयभित्र नै थुनेर तालाबन्दी गरेका थिए।
नेकपा एमालेमा पनि पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको विषयमा असन्तुष्टि देखिएको छ। उपमेयरको उम्मेदवार बनाउने पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयमा मञ्जु गुरूङले असन्तुष्टि जनाएकी छन्। उनले आफूले मेयर÷उपमेयर दुवैमा दाबी नगरेको भन्दै निर्णयमा असन्तुष्टि जनाएकी हुन्। उनी हाल पोखरामा महानगरपालिकाको उपमेयर नै छन्।
पोखरामा मेयर र उपमेयर बनाउने निर्णयले कार्यकर्तादेखि नेताहरुकै तहमा असन्तुष्टि देखिएपछि त्यहाँ नयाँ अनुहार ल्याउने बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै परामर्श थालेका छन्।
‘हिजोको सचिवालयले एउटा निर्णय गरेको थियो। तर, त्यस निर्णयमा कार्यकर्तादेखि नेताहरु नै असन्तुष्ट देखिएपछि अध्यक्षले परामर्श थाल्नुभएको छ,’ उनीनिकट एक नेताले भने।
उनका अनुसार सोमबार बिहानसम्ममा पोखरा महानगरको बारेमा निर्णय पुनःविचार हुन सक्ने देखिएको छ। सिफारिस भएका दीपक पौडेलको एउटा विवादास्पद सिसिटिभि फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यसकारणले पनि त्यहाँ पौडेलको ठाउँमा अर्को उम्मेदवार उठाउनुपर्ने दबाब पार्टी नेतृत्वलाई परेको छ।
गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको तिक्ततापूर्ण गुटबन्दीको असर पोखराको उम्मेदवारी छनोटमा देखिएको नेताहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।