काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपविजेता बनेका शेखर कोइरालालाई संस्थापनइतरको नेताका रुपमा सभापति शेरबहादुर देउवाले फेरि अस्वीकार गरेका छन्। स्थानीय तहका उम्मेदवार छान्ने कांग्रेसको केन्द्रीय संसदीय समितिमा शेखरलाई समेटिएन।
गत महाधिवेशनमा आफूलाई निष्क्रिय बनाएका रामचन्द्र पौडेल उक्त समितिमा परेका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै पौडेललाई समितिमा राख्न प्रस्ताव गरेका हुन्।
उक्त बोर्डमा १३ पदाधिकारीबाहेक समेटिने पौडेल एक्लो हुन्। २५ सदस्यीय केन्द्रीय संसदीय बोर्ड हुने विधानको व्यवस्था छ। समितिलाई पूर्णता दिँदा कोइराला पर्ने सम्भावना भएपछि देउवाले १४ सदस्यबाटै काम चलाउने रणनीति लिएको संस्थापनइतरका नेताहरुको बुझाइ छ।
देउवाले आफू अनुकूल बनाएको संसदीय बोर्डले उनलाई नै अनुकूल हुनेगरी निर्णय गरेको छ। संसदीय समितिबाट महानगरका प्रमुख र उपप्रमुख सिफारिस गर्ने जिम्मेवारी देउवालाई दिने निर्णय गरियो। केन्द्रीय कार्यसम्पादन समितिले त्यसलाई अनुमोदन गर्यो।
महानगरको उम्मेदवारी टुंग्याउन कांग्रेस शीर्ष नेताहरुको तीनदिनदेखि निरन्तर छलफल चलिरहेको छ। तर, सहमति हुन सकेको छैन। संस्थापनइतरका नेता कोइरालाले विराटनगरमा सभापति देउवाले सिफारिस गरेको नाममा आपत्ति जनाएका छन्। उनले नागेश कोइरालालाई अघि सारेका छन्।
उम्मेदवार छनोट गर्ने जिम्मेवारी रहेको बोर्डमा कोइराला आउँदा समस्या पर्ने महशुस भएपछि देउवाले उनलाई नसमेटेको कांग्रेसका एक पदाधिकारीको बुझाइ छ। उनी भन्छन्, 'शेखर दाइलाई ल्याउँदा प्रष्ट रुपमा असहमति राख्नुहुन्छ। सभापतिज्यूले त्यो शीर्ष नेताहरुकै बैठकमा देखिसक्नुभयो।'
सभापतिमा ४० प्रतिशत मत पाएका कोइरालालाई देउवाले यसअघि वरीयताक्रममा समेत प्रतिष्पर्धीका रुपमा स्वीकार्न कन्जुस्याइँ गरेका थिए। महाधिवेशनपछि कोइरालाको नेतृत्वमा 'पुनर्जागरित' संस्थापनइतर समूहलाई देउवाले टुक्र्याउने प्रयास गरिरहेका छन्। संस्थापनइतरको नेताका रुपमा पौडेललाई अघि सारेर कोइरालालाई कमजोर बनाउने रणनीति लिइरहेका छन्।
केही समयअघि केन्द्रीय सदस्य मनोनयनमा समेत संस्थापनइतको भाग कोइरालाले पौडेललाई दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।