काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुले काभ्रेमा स्थानीय तहको भागबण्डा टुंग्याएका छन्। गठबन्धनका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको भागबण्डा टुंग्याएका हुन्।
गठबन्धन दलहरुको प्रदेश स्तरीय संयन्त्रमा भएको सहमतिअनुसार काभ्रेमा नेपाली कांग्रेसले १३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा प्रमुख तथा अध्यक्षका उम्मेदवार उठाउने भएको छ। नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख तथा अध्यक्षको उम्मेदवार उठाउने सहमति भएको हो।
नेपाली कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिकाको प्रमुख तथा तेमाल, बेथानचोक र रोशी गाउँपालिकाको अध्यक्षको उम्मेदवार उठाउने सहमति भएको छ।
माओवादी केन्द्रले खानीखोला, चौरी देउराली, भुम्लु र महाभारत गाउँपालिकाको अध्यक्षमा उम्मेदवार उठाउने सहमति भएको छ।
नेकपा एकीकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा उम्मेदवार उठाउने सहमति भएको छ।
यसअघि काभ्रेमा कांग्रेसले एकलौटी गर्न खोजेको भन्दै माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने तयारी गरेको थियो। गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेको माओवादीका नेताहरुसँग नेकपा एमालेका नेताहरुले तालमेलको प्रस्ताव समेत गरेका थिए।
तर, प्रदेश स्तरका नेताहरुले गठबन्धन जोगाउने भन्दै भागबण्डाको खाका तयार पारेका हुन्। प्रदेश स्तरीय संयन्त्रले गरेको सहमतिअनुसार नै गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले तालमेल गरेर जाने नेताहरुले जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।