काठमाडौं– भक्तपुर जिल्लाका ४ पालिका र ६ वटा महानगरपालिकाका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छाप्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।
निर्वाचन आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरका ४ पालिका र ६ वटा महानगरपालिकाको मतपत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै छाप्ने तयारी भएको जानकारी दिएका थिए।
निर्वाचन आयोगले २ महिना अगाडिदेखि नै उक्त निर्णय गरेको थपलियाको दाबी थियो।
उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छाप्ने निर्णयले मतपत्रमा धेरै चुनाव चिह्न नहुने आयोगको भनाइ छ। यस्तो भएमा उम्मेदवारी दिएको पदमा मात्रै दलीय चुनाव चिह्न हुन्छ।
एमालेले भने निर्वाचन आयोगको उक्त निर्णय सत्ता गठबन्धनलाई फाइदा पुर्याउने आशयबाट प्रेरित रहेको आरोप लगाएको छ। 'अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ,' एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचन आयोगलाई लेखेको पत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।