काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टीका कास्की जिल्ला सभापतिसहित पदाधिकारीहरुलाई पार्टी कार्यालय भित्रै थुनेका छन्। उम्मेदवार तोक्ने विषयमा विरोध जनाउँदै कार्यकर्ताहरुले पार्टी सभापतिसहित नेताहरुलाई कार्यालयमा थुनेका हुन्।
उमेदवारी मनोनयन दर्ताको दिनसम्म पनि कास्कीका धेरै पालिकामा सत्ता गठबन्धनबीच भागबन्डा नमिलेको अवस्थामा नेताहरुलाई थुनिएको हो। चुनावी तालमेलको विरोधमा रहेको पक्षका कार्यकर्ताले पार्टी कार्यालय बाहिरबाट ताला लगाएका छन्।
गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उमेदवार बनाइएको छ । तर, कार्यकर्ताले सो निर्णयको विरोधमा जिल्ला सभापतिसहितलाई थुनेका हुन्।
कास्की कांग्रेसका सचिव भानु ढकालका अनुसार असन्तुष्ट कार्यकर्ताले वार्तास्थल स्नोल्यान्ड होटेलबाट लगेर उनीहरूलाई पार्टी कार्यालयमा थुनेका हुन्। आइतबार नै कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखराको मेयरमा ‘बागी’ उमेदवारी दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।