ललितपुर- ललितपुरको गठबन्धनमा सत्ता साझेदार दुई दलले मात्रै चुनावी तालमेल गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै तालमेल गरेर भागबन्डा गरेका हुन्। प्रदेशस्तरमा भएको तालमेलले एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ।
सत्तासाझेदार एकीकृत समाजवादी समेत तालमेलमा छुटेको छ। एकीकृत समाजवादीको प्रभाव नरहेको भन्दै भाग दिन दुई ठूला दलले अस्वीकार गरेका हुन्।
ललितपुरका कांग्रेस सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रदेशस्तरबाट उक्त निर्णय भएको बताए। निर्णयअनुसार महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसको भागमा परेको छ। गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसको भागमा परेको छ।
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसले पाएको छ। बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, महांकाल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ।
ललितपुर महानगरपालिका केन्द्रीय गठबन्धनले नै टुंगाइसकेको छ। प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।