काठमाडौं– नेपाली कांग्रेसले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
आइतबार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी निर्वाचनपछि जित्ने आफ्ना जनप्रतिनिधिहरुले के गर्छन् र के गर्दैनन् भन्ने उल्लेख गरिएको छ।
कांग्रेसले ७ बुँदा नगर्ने कामको सूची राखेको छ भने १२ बुँदामा गर्ने काम राखेको छ। कांग्रेसले भ्युटावर, स्वागतद्वार जस्ता कार्यमा जनताबाट संकलन भएको कर खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै, नियुक्तिहरुमा आफन्त सिफारिस नगर्ने पनि उसको घोषणापत्रमा उल्लेख छ।
कांग्रेसले संविधानप्रदत्त सम्पूर्ण अधिकार कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानुन संघ र प्रदेशले एक वर्षभित्र निर्माण र परिमार्जन गर्ने भनी राखेको छ।
त्यस्तै, एक वर्षभित्र संघीय प्रणालीलाई कार्यमूलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने भनेको छ। एक वर्षभित्र स्थानीय सरकारलाई थप स्रोत–साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने घोषणापत्रमा उल्लेख छ।
स्थानीय सरकारको माग, क्षमता र आवश्यकताका आधारमा बजेट विनियोजन, समानिकरण अनुदान वृद्धि, पूर्वाधार लगायत विकास आयोजनाका लागि सहुलियत ऋण, अनुदान, प्राविधिक सहयोग उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ।
जिल्ला समन्वय समिति लगायत जिल्लाका संरचनाहरूको क्षेत्राधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्ने घोषणापत्रमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।