काठमाडौं– नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा आफूले जितेका स्थानीय तहका प्रतिनिधिहरुले भ्युटावर र स्वागतद्वार जस्ता क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाएको छ।
वैशाख ३० गते हुने निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात गर्दै स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले भ्यूटावर निर्माण नगर्ने उल्लेख गरिएको छ।
कांग्रेसले सात वटा प्रतिबद्धता व्यक्त गर्दै आफ्ना जनप्रतिनिधिले यस्तो कार्य नगर्ने दाबी गरेको छ।
‘जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौं, गर्न दिने छैनौं’ घोषणाापत्रमा भनिएएको छ ‘कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं। नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं।’
निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गइ अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने घोषणापत्रमा उल्लेख छ।
‘कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन गर्दैनौं ’ घोषणापत्रमा भनिएको छ ‘महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।