काठमाडौं– नेपाली कांग्रेसले सार्वजनिक गरेको संकल्प पत्रमा साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड दिने उल्लेख गरिएस्को छ।
स्थानीय तह निर्वाचन २०७९लाई लक्षित गरेर आइतबार सार्वजनिक संकल्प पत्रमा नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले मत्त्वपूर्ण योगदान गर्दै आएको भन्दै यस क्षेत्रको उत्थानका लागि आजसम्म हुँदै आएका प्रयत्नहरू पर्याप्त नभएको बताइएको छ।
विविधिकरण, व्यावसायीकरण र औद्योगिकीकरणका माध्यमबाट किसानको आम्दानी वृद्धि, खाद्य तथा पोषण सुरक्षा र आत्मनिर्भर कृषि क्षेत्र नै अब आफ्नो मार्गचित्र भएको बताइएको छ।
‘किसान कल्याण’ अन्तर्गत किसानहरुको सूचीकरण र वर्गीकरण, कृषि सामग्री तथा कृषि सेवामा सुनिश्चित पहुँच, स्थानीय किसानलाई भूमि बैंकमा अग्राधिकार र साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड दिने भनिएको छ।
‘साना किसानलाई दुई प्रतिशतमा तथा मझौला र ठूला किसानलाइ चार प्रतिशत ब्याजदरमा कृषि ऋणको व्यवस्था, कृषि बीमामा साना किसानलाई ९० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान, दिइनेछ,’ संकल्प पत्रमा उल्लेख छ।
यसैगरी, उन्नत बीउबिजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदान, कृषि पशुपन्छी तथा मत्स्य उत्पादनमा खपत हुने कृषि विद्युत्मा ५० प्रतिशत छुट, आधारभूत खाद्यवस्तुको न्यूनतम समर्थन मूल्य, बजारीकरणका लागि कृषि एम्बुलेन्स र साना किसानका लागि सावधिक बीमाको प्रिमियममा ५० प्रतिशत सहायता दिने संकल्प कांग्रेसको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।