काठमाडौं- नेपाली कांग्रेसले स्थानीय सरकारको मार्गचित्र भन्दै घोषणापत्रमा केही बुँदा उल्लेख गरेको छ। कांग्रेसले परिकल्पना गरेको समुन्नत नेपालको आधार नै गाउँ र नगरको समुन्नति रहेको बताउँदै सरकारलाई अधिकार तथा साधनस्रोत सम्पन्न र प्रभावकारी बनाएर गाउँ र नगरको विकास र समुन्नतिको ठोस आधार तय गर्ने उल्लेख छ।
'स्वतन्त्र र सम्मानित नागरिक सहित सबल र सक्षम स्थानीय तहले व्यापक जनसहभागितामा दिगो विकासको अवधारणा अनुसार लगानी जुटाउन र प्रभावकारी ढङ्गले त्यसको कार्यान्वयन गर्न सक्छन्,' मार्गचित्रको भूमिकामा भनिएको छ, 'यही तथ्यलाई मनन गरेर नेपालको संविधानले जनताका प्रत्यक्ष सरोकारका विषयहरूमा तत्काल सेवा प्रवाह गर्ने जिम्मेवारी जनताको घर-दैलोमा रहेको स्थानीय सरकारलाई दिएको हो।'
संविधानले स्थानीय सरकारलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकारहरू सुनिश्चित गरेको बताउँदै संविधानको यही मर्म र भावना तथा नेपाली नागरिकको चाहना अनुरूप भन्दै कांग्रेसले प्रस्तुत गरेका सैद्धान्तिक अवधारणा तथा मार्गचित्र निम्नानुसार छन्:
१ संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई विस्तार गरी व्यक्तिको प्रतिभाको प्रष्फुटन गराउने वातावरण निर्माण गर्दै नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजवुद बनाउने,
२ जनतामुखी नीति अनुशरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने,
३ समुन्नत नेपालको राष्ट्रिय आकांक्षा अनुरूप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने,
४ संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी बहन गरी अधिकार सम्पन्न र प्रभावकारी सरकार सञ्चालन गर्ने,
५ दिगो विकासको लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य निर्धारण गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने,
६ सामाजिक न्याय र समावेशिताको संवैधानिक मर्मलाई आत्मसात गर्दै सबै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने, नागरिकको भरोसा र विश्वास जित्ने गरी स्थानीय सरकारलाई जनताको सेवकको रूपमा विकसित गर्ने,
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।