काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७९ को लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच 'नेपाली कांग्रेसको संकल्प' नामको घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा सामाजिक सुरक्षाअन्तर्गत 'कोखदेखि शोकसम्म'का कार्यक्रम अघि सारिएको छ। 'कोखदेखि शोकसम्म नेपाली कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणा हो र जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यले बहन गर्ने दायित्वको जनमुखी एकीकृत नीति र कार्यक्रम हो', घोषणापत्रमा भनिएको छ।
एकीकृत सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गरी यसको उद्देश्य हासिल गर्ने दृष्टिले स्थानीय सरकारको विशिष्ट भूमिका हुने घोषणापत्रमा उल्लेख छ। 'यसलाई दुरुपयोग हुन नदिन तथा यसलाई अझै नागरिकमैत्री बनाउन स्थानीय सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्दै थप सहजीकरण र सरलीकरण गर्नुपर्छ। त्यसैले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सम्पूर्ण स्थानीय सरकारहरुले सामाजिक सुरक्षामैत्री कार्यक्रमलाई उच्च प्राथमिकता दिंदै आवश्यकता अनुसार थप सामाजिक सुरक्षाका कार्यक्रमहरू लागू गर्नेछन्', घोषणापत्रमा भनिएको छ।
कोखदेखि शोकसम्मको कार्यक्रमको सुरुवातमा प्रजनन स्वास्थ्य र अधिकारबाट सुरु गरिएको उसको अवधारणामा मृत्यु संस्कारसम्म उल्लेख गरिएको छ। जसमा युवायुवतीलाई नि:शुल्क प्रजनन स्वास्थ्य शिक्षा र प्रजनन् छनोटको स्वतन्त्रताको प्रत्याभूति उल्लेख छ। ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा, ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने उल्लेख छ। मृत्यु संस्कार खर्च दिने पनि घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।