काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७९ को लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच 'नेपाली कांग्रेसको संकल्प' नामको घोषणापत्र सार्वजनिक गरिएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई भन्ने गरेको 'परमादेशी सरकार'को प्रतिवाद घोषणापत्रमा गरिएको छ। 'नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ। तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो', घोषणापत्रमा उल्लेख छ।
यसैगरी, नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू भएको घोषणापत्रमा भनिएको छ। 'सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन', घोषणापत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।