काठमाडौं– काठमाडौंको मेयरका लागि उम्मेदवारी दिएका बालेन शाहले आफू कांग्रेस र एमाले दुवैको भोट काटेर मेयर पद जित्न आएको बताएका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारमाध्यमसँगको कुराकानीमा उनले दुई ठूला पार्टीको भोट काटेर आफू विजयी बन्न चुनावी मैदानमा उत्रिएको बताएका हुन्। ‘उपत्यकामा भएका मतदातामध्ये धेरै स्वतन्त्र छन्,’ उनले भने, ‘हामीले जित्दा ९० हजार ८३५ भोटले जित्छौं।’
आफूलाई किन भोट दिने भन्ने प्रश्नमा बालेन पहिलेजस्तो पाँच वर्ष दुःख भोग्न मन नभए मतदाताले आफूलाई भोट दिनुपर्ने बताएका छन्। बाइकबाट लड्न मन नभए, खानेपानीको व्यवस्था चाहिएमा आफूलाई भोट दिनुपर्ने उनले बताएका छन्। उनी भन्छन्, ‘काठमाडौंमा सबै कुरा छन्। तर, व्यवस्थापनमा कमजोरी छ। यहाँ काम लगाइन्छ, तर अनुगमन हुन्न। बजेट निकालिन्छ तर भनेअनुसार काम भयो भएन हेरिँदैन। त्यसैले यहाँ अनुगमन गर्नुपर्छ। व्यवस्थित रुपमा गर्नुपर्छ।’
बालेन आफूले देशभर उठिरहेका स्वतन्त्र उम्मेद्वारहरु सक्षम भएमा सहकार्य र समर्थन गर्न तयार भएको बताएका छन्। उनी आफूहरुलाई युवा मात्रै नभएर पदमा जान सक्षम भएकाले पदका लागि उठेको बताएका छन्। ‘युवा भएर भोट चाहियो भनेको छैन्,’ बालेनले भने, ‘हामीसँग भिजन छ। हामीसँग अजेण्डा छ। त्यही अनुसार काम गर्छौं। त्यसैले भोट चाहिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।