काठमाडौं– विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवार छनोट गर्ने विषयमा नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुबीच विवाद भएपछि सहमति जुट्न सकेको छैन। काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने विषयमा लगभग नेताहरुबीच सहमति बनिसकेको छ। तर, विराटनगर र ललितपुरको विषयमा कुरा नमिल्दा भने सहमति हुन सकेन।
शनिबार बिहानदेखि अबेर रातिसम्म शीर्षस्थ नेताहरु छलफलमा जुटेका थिए। विराटनगरमा शेखर कोइराला र नेता कृष्ण सिटौलाले आ–आफ्नो अडान राखेपछि सहमति जुट्न नसकेको हो। शेखर कोइरालाले आफू निकट नागेश कोइरालालाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् भने कृष्ण सिटौला अहिलेकै मेयर भीम पराजुलीलाई निरन्तरता दिनुपर्ने अडानमा छन्।
ललितपुर महानगरपालिकाको विषयमा पनि नेताहरुबीच सहमति हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवा अहिलेकै मेयर चिरिबाबु महर्जनलाई निरन्तरता दिने पक्षमा देखिएका छन् भने अन्य नेताहरुले एउटै व्यक्तिलाई दोहोर्याउन नहुने भन्दै अर्को उम्मेदवार तय गर्नुपर्ने अडान राखेका छन्।
निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ। तर, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा भने उम्मेदवारको टुंगो लगाउन नै सकस भइरहेको छ।
उम्मेदवारको टुंगो लगाउने विषयमा आइतबार बिहान ९ बजे पनि शीर्षस्थ नेताहरु छलफलमा जुटने भएका छन्। त्यस लगत्तै ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।