काठमाडौं- नेपाल स्टक एक्चेन्ज (नेप्से) मा नयाँ प्रमुख कार्यकारी नियुक्त नभएसम्म अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालले जिम्मेवारी सम्हाल्ने भएका छन्।
मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बर्खास्त गरेसँगै नयाँ प्रमुख कार्यकारी नियुक्त नभएसम्मका लागि अर्याललाई नेप्सेमा पठाउने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ गतेपछि ओली सरकार गठन हुँदासम्मको समयमा आचारसंहिता लागू रहेको बखतमा भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेपछि अर्थ मन्त्रालयले साउदलाई आइतबार नियुक्ति बदरको पत्र पठाएको थियो।
साउदले भने सरकारले सबैलाई एकै ठाउँमा राखेर यस्तो निर्णय गर्न नहुने बताए। उनले भने, ‘नियुक्ति प्रक्रिया निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै सुरु भएको थियो। जसका कारण ममाथि अन्याय भएको छ।’ खुल्ला प्रतिस्पर्धाबाट आएको भन्दै उनले अबको कदमबारे कानुन व्यवसायीसँग छलफल गरिरहेको बताए।
शेरबहादुर देउवा नेतृत्वको सरकारले साउदलाई ८ महिनाअघि (असोज २३) नेप्सेको सिइओमा नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।