काठमाडौं– निर्वाचन आयोगले अग्रिम मतपत्र छाप्नुपर्ने बाध्यता र त्यसबाट सिर्जना हुने कतिपय जटिलताको उपयुक्त समाधान ई-भोटिङ भएको बताएको छ।
शनिबार आयोग कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने- 'निर्वाचन आयोगको तर्फबाट हामी के आह्वान गर्छौँ भने, यी सबै कुराहरुको उपयुक्त र राम्रो समाधान इ-भोटिङमा जाँदा हुन्छ। त्यसकारण कुनै प्रश्नै नआउने गरी इलेक्ट्रिक भोटिङमा जाने गरी माहोल तयार गरौँ। आयोग त्यसका निम्ति तयार छ।'
उनले त्यसो नगर्ने र यही कानुन र यही प्रक्रियाभित्र मतपत्र छापेर जाँदा त्यस्ता खालका जटिलता समाधान हुने कुनै सम्भावना नरहेको बताए।
उनले यातायातको असुविधा भएका ठाउँहरुमा मतपत्र १९ गतेभित्र पठाइसक्नुपर्ने बताए। 'त्यो २१ गते वा २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको कार्यालयमा जान्छ। अहिले पनि मतदान अधिकृतको कार्यालयबाट मतदानस्थल जान तीन दिनसम्म समय लाग्ने ठाउँहरु पनि छन्। कुनै पनि मूल्यमा २६ गते हाम्रा मतपत्र सहित सम्पूर्ण सामग्री बोकेर मतदान गर्न जाने टिम त्यहाँ पुगिसक्नुपर्छ', उनले भने।
उनले प्राविधिक र व्यवहारिक दृष्टिकोणले सबै उम्मेदवारहरुको फाइनल भइसकेपछि मतपत्र छापेर दिने भन्ने कुरा असम्भव रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।